नवनिर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेले लिए शपथ
काठमाडौं - राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् ।
त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी निर्वाचित भएका थिए ।
राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस