आइपिएलः हैदराबादले दिल्लीलाई ८८ रनले हरायो
काठमाडौं,एजेन्सी - दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ । गएराती दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदराबादले दिएको २२० रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा १३१ रन बनाउँदै अलाउट भएपछि खेल ८८ रनले हारेको हो ।
प्लेअफको नजिक पुगेको दिल्लीले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । विशाल लक्ष्य पछाएको दिल्लीको शुरुवात नै निकै खराब भएको थियो । दिल्लीका लागि रिषव पन्तले सर्बाधिक ३६ रन बनाए भने अजिख्य रहानेले २६, तुषार देशपाण्डेले २०, शिमरन हेटमायेरले १६ रन बनाए ।
दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् । जसमा शिखर धवन ०, मार्कोस स्टोइनिस ५, कप्तान श्रेयस अय्यर ७, अक्सर पटेल १, कगीसो रबाडा ३, आर आश्विन ७ र एनरीच नोर्त्जेले १ रन बनाएका थिए ।
हैदरावादका बलरले उत्कृष्ट बलिङ गरेका थिए । रशिद खानले ४ ओभरमा केबल ७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए भने सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए । त्यस्तै शहबाज नदीम, जासन होल्डर र विजय शंकरले एक/एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा २ विकेट गुमाउदै २२० रन बनाएको थियो ।
हैदरावादका लागि कप्तान डेविड वार्नर र रिद्धिमान शाहले उत्कृष्ट ब्याटिंग गरेका थिए । रिद्धिमान शाहले ४५ बलमा ८७ रन बनाए भने वार्नरले ३४ बलमा ६६ रन बनाएका थिए । त्यस्तै मनिष पाण्डेयले ३१ बलमा आक्रामक ४४ रन बनाएका थिए भने केन विलियम्सन अविजित ११ रन बनाएका थिए ।
दिल्लीका बलर एनरीच नोर्त्जे र आर आश्विनले एक एक विकेट लिएका थिए । यो जितसँगै हैदरावादले १२ खेलमा पाँचौ जित हासिल गरेको छ भने १० अंक सहित छैठौं स्थानमा रहेको छ ।
त्यस्तै दिल्ली क्यापिटल्स भने १२ खेलमा पाँचौ हार बेहोरेको छ । दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज ४८ औं खेलमा साँझ ७ः४५ बजे मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस