काठमाडौं - नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप को दोस्रो खेलमा पनि हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६, कुशल मल्लले १९ र आरिफ शेखले १० रन बनाए ।

हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए । वासिफ २६ रनमा आउट भए । यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने र सुशान भारीले २र२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।