काठमाडौं - काठमाडौं महानगरपालिकाले नक्सापास विपरीत अण्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन थालेको छ । 

महानगरले प्रयोजन विपरीतका पसल हटाउन गत साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी गरेको थियो ।  सूचना बमोजिम आज बिहान वानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पश्चिम दिशाबाट पसलहरू हटाउन शुरु गरिएको महानगरले जनाएको छ । 

महानगर प्रमुख बालेन शाह आफैं उपस्थित भएर अण्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा संरचना हटाउन शुरु गरेका हुन् । 

ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा आजबाट पार्किङका पसल तथा संरचना हटाउन थालिएको हो । 

अण्डरग्राउण्डमा कि पार्किङ वा गोदाम बाहेक राख्न नपाइने महानगरले जनाएको छ ।  जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएका भवनहरूले निर्माणपछि पसल क्यान्डिन र डिस्को चलाएको महानगरको दाबी छ ।महानगरले भवनको नक्सापास अनुगमनमा कडा गर्ने जनाएको छ ।