काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएका हौं र हामी अझ त्यसलाई सुदृढ, विकसित र परिमार्जित गरेर जान चाहन्छौं ।’

उनले यो पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरु अगाडि बढाइएको बताए । अध्यक्षले तल्लोस्तरसम्म योजनावद्ध ढंगले पार्टीलाई पूनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको बताउँदै सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने अध्यक्षको भनाई थियो । उनले भने, ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ ।’

अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए। उनले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे । 

अध्यक्षले आफुहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताए। अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको बताए ।