काठमाडौं - एजेन्सी कतार विश्वकप २०२२ को युरोपियन छनौटको खेलमा पोर्चुगलले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा  पोर्चुगलले लक्जेमवर्गलाई उसकै मैदानमा ३–१ले पराजित गरेको हो । 

खेलको ३०औं मिनेटमा जर्सन रोड्रिगेसले गोल गर्दै  लक्जेमवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम रहन सकेन । पहिलो हाफको इन्ज्युरी समयमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए । त्यसपछि ५१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलकोअग्रता दोब्बर पारे । 

८०औं मिनेटमा जोआओ पलहिन्हाले गोल गर्दै पोर्चुगललाई ३–१ को पूनरागमन जित दिलाए । ८७औं मिनेटमा म्याक्सीमी चानट दोहोरो पहेँलो कार्ड खाँदै मैदानमा बाहिरिएपछि लक्जेमवर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस्तै, समूह  ‘ए’कै अर्को खेलमा सर्वियाले अजरवैजानलाई २–१ ले पराजित गरेको छ । 

समूह ईको वेल्सले साँघुरो जित निकालेको छ । वेल्सले चेक रिपब्लिकलाई १-०ले पराजित गरेको हो । दुबै टिम १० खेलाडीमा समेटिएको थियो ।