काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सम्पूर्ण सुविधाहरु मंगलबार फिर्ता गरेका छन् । उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी मंगलबार फिर्ता गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मध्यान्हलाई जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि धेरै समय भेटघाट र अस्वस्थताको कारण पूर्वसभामुखको हैसियतमा लिएका सुविधाहरु फिर्ता गर्न ढिलाई भएको उनले जानकारी दिए । ‘सुविधा ऐन अन्तर्गत १५ दिनभित्रै सुविधाहरु फिर्ता गर्ने तयारी भएको थियो’ उनले भने ‘तर राष्ट्रपतिको भेटघाट र अस्वस्थताको कारण ढिलाई हुन गएको हो ।’

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’