काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । 

बिहीबार राति म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा सम्पन्न खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलको ६० औं मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । 

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन । बराबरीसँगै चेल्सी ३३ खेलबाट ६६ अंकसहित तालिकाको तेस्रो स्थानमा कायम छ । यस्तै, युनाइटेड ३५ खेलबाट ५५ अंकसहित छैटौं स्थानमा छ ।