काठमाडौं-नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

केन्द्रीय समिति बैठक सुरु हुनुअघि बस्न लागेको पदाधिकारी बैठकमा पार्टीभित्र चर्को बनेको महाधिवेशन मिति र क्रियाशील सदस्यता विवाद प्रमुख एजेन्डा रहेका छन् ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् । साथै, क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका उपायबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।

महामन्त्री थापाले बिहीबारको बैठकमा उक्त प्रस्ताव राख्न खोजेपनि वातावरण नबनेपछि बिनासूचना अनुपस्थित भएका थिए । आजको बैठकमा उनले आफ्नो प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

कांग्रेसभित्र अहिले महाधिवेशनको मितिलाई लिएर गहिरो मतभेद देखिएको छ ।

संस्थापन पक्षका नेता तथा सभापति शेरबहादुर देउवा निकट समूहले सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

तर, संस्थापनइतर समूह भने मंसिरभित्रै महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशन बोलाउनुपर्ने अडानमा अडिग छ ।

यसैबीच, कांग्रेसको केन्द्रीय समिति बैठक आजै दिउँसो १ बजे बस्नेछ ।