काठमाडौं,एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेको युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्यो । खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्किएको थियो । खेलको ७८ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा कार्लोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदानको जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १० खेलमा २० अंक जोडेको छ । टोरिनो ६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।