संसदको काम कारबाही रोक्नुपर्ने राष्ट्रिय सभा सदस्यहरुकाे माग
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारबाही रोक्नुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् ।
सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताए । उनले भने, ‘संसदमा कुनै बिजनेस पनि देखिँदैन । सांसदहरुले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन् । केही गरि तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ ।’
सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था नभएको बताए। भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उहाँले सावधानी अपनाउनुपर्ने बताए।
अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद पनि २, ४ दिनभन्दा बढी नचल्ने बताए । उनले भने, ‘संसद २-४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन ।अधिवेशन सकिने बेला पनि भयो । बढीमा ३ दिन बढी जाँदैन।’
सांसद प्रमिला कुमारी कोरोनाले विश्वका धेरे देशहरु संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन। संसदमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उनले ७ गतेसम्म मात्रै संसद चल्न सक्ने बताए ।
सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिएपनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताए। नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उनले बताए ।
विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन, धेरे भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस