अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
खोटाङ - नेकपा माओवादी केन्द्रले अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई कुनै जानकारी नदिई अमेरिका बसिरहेका छन् ।
पार्टीले उनलाई फर्किएर आफ्नो कार्यभार सम्हाल्न पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेका भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो । नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश) का अनुसार, साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते कटवाललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।
त्यसपछि माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील) द्वारा हस्ताक्षरित निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल्लेख गरिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कटवाल २०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन् ।
वडाध्यक्षको अनुपस्थितिका कारण जनताले पाउने सेवा, सुविधा तथा विकास निर्माणका कार्यहरू प्रभावित हुदै आएको छ । वडाअध्यक्ष निलम्बनले आगामी दिनमा वडाको प्रशासनिक कार्यहरूलाई सुचारु गर्न बाटो खुलेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस