काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे तत्काल धारणा नबनाउने बताएका छन् । बिहीबार ओली निवास बालकोटमा एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको भेटमा ओलीले सो जवाफ दिएका हुन् ।

एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको जानकारी दिए । प्रतिपक्ष दलहरुले भन्दा पनि सत्तामा रहेका दलहरुले पोजिसन क्लियर गर्नुपर्ने भन्दै ओलीले हतारिएर पोजिसन नबनाउने बताएका हुन् ।

भेटमा ओलीले आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिलेका सत्तारुढ दलहरु र सरकारले यसबारेमा एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि टोलीलाई बताए ।

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।