डा. केसीको चेतावनीः ‘बीएन्डसीलाई चोर बाटोबाट सम्बन्धन नदिनु, नत्र सत्याग्रह सामना गर्नुपर्ला’
काठमाडौं - डा. गोविन्द केसीले झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
हाल यमनमा रहेका डा. केसीले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान नगर्न ध्यानाकर्षण गरेका हुन् । बिएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किनेवित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनीसमेत उनले दिएका छन् ।
‘यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैर-न्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रहको शुरुवात म नेपाल फर्कन बितिक्कै थाल्ने चेतावनी दिन चाहन्छु। त्यसको लागि तयार रहनुहोला।’ उनले भनेका छन् ।
शुक्रबार बिएण्डसी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएको जानकारी पाएको बताउँदै उनले नेपाली नागरिकहरुले महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेको तर, प्रधानमन्त्री ओलीले स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी काम गरेको आरोप लगाएका छन् ।
‘मेरो जानकारीमा यो आएको छ कि यहाँले शुक्रबार जेठ २८ गते बि एण्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको छ।’ उनले भनेका छन्, ‘नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो।’
यस्तै, आफू दुई महिनादेखि युद्धग्रस्त यमनमा स्वयंसेवा गरिरहेको बताउँदै डा. केसीले यमन भोकमरी, कुपोषण तथा रोगले ग्रसित भएपनि अराजकता नदेखिएको तर, नेपालमा त्यस्तो दयनीय अवस्था नभए पनि चरम अराजकता भएको उल्लेख गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस