काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किंग्स र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा दिउँसो ३:४५ बजे हुनेछ ।

जारी सिजनको अंक तालिकाको पाँचौ स्थानमा रहेको पञ्जाबलाई पुछारमा रहेको चेन्नईले चुनौती दिन लागेको हो । प्ले अफमा पुग्न आजको खेल आफ्नो पक्षमा पार्नेपर्ने दबाब पञ्जाबमाथि छ । पाँच खेल लगातार जितेको पञ्जाब पछिल्लो खेलमा राजस्थान रोयर्ल्ससँग ७ विकेटले पराजित भएपछि प्ले अफमा पुग्न संघर्ष गरिरहेको छ ।

आजको खेलले पञ्जाब प्ले अफमा पुग्ने वा नपुग्ने टुंगो लगाउँछ । यता, चेन्नईको भने प्ले अफको सम्भावना सकिसकेको छ । तर, पछिल्ला दुई खेलमा भने जित निकालेको छ ।

पञ्जाबमा केएल राहुलको नेतृत्वमा क्रिस गेल, ग्लेन म्यासवेल, म्यानक अग्रवाल, निकोलस पुरनलगायतका अनुभवी खेलाडी छन् ।

चेन्नईमा भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा फाप्प डु प्लेसिस, सेन वाटसन, साम कुरनलगायतको खेलाडी छन् ।

हेड टु हेडका आँकंडा हेर्दा चेन्नई बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २२ खेलमा चेन्नई १३ मा र पञ्जाब ९मा विजयी भएको छ । पछिल्लो खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले हराएको थियो ।