काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। 

आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत पोखरा पुग्नेछन् । 

पोखरा पुगेर सुरुमा प्रधानमन्त्री ओलीले  प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।  त्यसपछि पोखरा सभागृहमा आयोजित गण्डकी प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्नेछन् । 

कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन् । उनलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । 

प्रधानमन्त्री ओली सोमबार नै काठमाडौं फर्किने छन् । यसअघि ओली समूहले गण्डकीमा आम सभा गर्न लागेको थियो तर, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि स्थगन भएको थियो।