काठमाडौं-परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँगको सम्बन्धलाई सरकारले उच्च महत्व दिएको बताएका छन् ।

हालै सम्पन्न चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । भारतसँग गम्भीर प्रकारले र हार्दिकताका साथ छलफल गर्न चाहेको उनले बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले भारतमा लोकसभा चुनावको तयारी भइरहेकोले त्यसअघि उच्चस्तरको भ्रमणको परिस्थिति नभएको बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले भने,‘हाम्रो दुई छिमेकी सँगको सम्बन्ध प्राथमिकताको विषय भएको मैले संसद्‌मा यसअघि पनि बताएको छु । उत्तरी छिमेकी चीनजस्तै भारत हाम्रो अर्को महत्वपूर्ण छिमेकी हो, भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौं, महत्व दिन्छौ।’

नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय रहेको भन्दै उनले यसको कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए । तीव्र विकासको पथमा अगाडि बढिरहेको भारतसँग आर्थिक साझेदारी बढाएर लाभ लिन सक्नु पर्ने मन्त्री श्रेष्ठले बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले दु्ई छिमेकीबीचको सम्बन्धलाई दुवैले आन्तरिक घरेलु राजनीतिका मुद्दा नबनाएर खुला ढंगले छलफल गरेर कूटनीतिक माध्यमद्वारा समाधान गर्न सकिने बताए ।