काठमाडौं, एजेन्सी - नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार ७६ वर्षीया सुकीलाई एक अदालतले चार वर्षको जेल सजाय सुनाएको हो ।

सुकीलाई सेनाविरूद्ध नागरिकलाई उक्साएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएको जनाइएको छ। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेको लगायत धेरै आरोप लगाएको छ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो । 

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश  हजार भन्दा बढी पक्राउ परेका छन् ।