काठमाडौं - नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके पार्टी कमजोर बन्ने बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको दावीसमेत गरे।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन नेतृत्वलाई आग्रह गरे। 

उनले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताए। 

उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफूनिकट नेता/कार्यकर्तालाई निर्देशन दिए। सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर उनले गरे। 

‘नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिऔँ साथीहरु। हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन।अधिवेशन तपाईंहरुलाई चाहिएको छ‚ हामीजस्तालाई चाहिएको छ‚’ सांसद कोइरालाले भने, ‘त्यसकारण तपाईंहरुले आवाज उठाउन जरुरी छ। सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु। मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस्- नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ को मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त। कति प्रेसर पर्दो रहेछ हेर्नुस्!’

सांसद कोइरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गरे। देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए।