काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको संवैधानिक इजलासमा बहस जारी छ ।

बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुखका कानुन व्यवसायीलाई कुनै व्यक्तिको बहुमत छ भन्दैमा अदालतले प्रधानमन्त्री नियुक्त गर भन्न मिल्छ भन्दै प्रश्न गरेका छन् । 

सभामुखका कानुन व्यवसायी मेघराज पोखरेललाई प्रश्न गर्दै प्रधानन्यायाधीशले भने - ‘१४६ जना यहाँ उपस्थित भयौं। अदालतले प्रमाणिकरण गरिदिए हुन्छ भन्ने तर्क आयो। अब अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ ?’ 

यसअघि सुरुमै बहस थालेका पोखरेलले  संविधानको धारा ७६ (५)मा दलीय ह्वीप नलाग्ने तर्क गरेका थिए । बहसका लागि सभामुखका कानुन व्यवासयीले दुई घण्टा समय पाएका छन्। सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्। प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने उनीहरूको माग छ ।