काठमाडौ - अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापा बादललाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या प्रचण्डमध्ये कसको कित्ता लिने हो भन्ने स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । हुन त उनी प्रचण्डसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न सक्थे । तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे । थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन । 

उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराइ ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे । 

थापाको यही अलमल देखेर एकपटक प्रचण्डले भनेका थिए–उहाँ त्यता उभिनु भएको छ, भाषण हाम्रो गर्नुहुन्छ ।’  त्यससता कयौँ मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको, छुट्याउनै मुस्किल हुने गरेको खबर छ । 

समाचारमा भनिएको छ–शुक्रबारको जनसभामा ओलीपछिको दोस्रो वरियता पाउने चर्चामा रहेका बादलले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री हुँ भन्ने चटक्कै बिर्सिए । 

कान्तिपुर दैनिकबाट