काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन सरकार बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरेको छ । 

एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गठबन्धन सरकार र पुनस्र्थापित प्रतिनिधिसभाको सर्वाधिक महत्वको कर्तव्य संवैधानिक र कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो । तर सरकारलेप्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर  संकट  उत्पन्न  भएको  छ  ।  बजेट  पारित  गर्ने प्रमुख  दायित्व  रहने  बर्षे  अधिवेशन,  बजेट  अध्यादेश अलपत्र  पारेर  हठात  अन्त्य गरियो ।’  

त्यस्तै सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र मुलुकलाई वित्तीय संकट सिर्जना गर्ने ‘सुतुरमुर्ग चाल’ चलेको आरोप पनि एमालेले लगाएको छ । ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएकोपदीय मर्यादाविपरीतको  अनुचित  कार्यका  विरुद्धमा  आफ्नो  असहमति  र  विरोध  प्रकट  गर्दै  आइरहेको  छ  ।  तर  समाभुख  र सरकारको  तर्फबाट  प्रतिपक्षको  सहमतिबिना  नै संसदको  काम  कारवाही  अघि  बढाउने  काम  भइरहेको    छ  । आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ । यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्नखोज्ने सुतुरमुर्ग चाल मात्र हो ।’ विज्ञप्तिमा भनिएको छ ।