काठमाडौं, एजेन्सी - इटालियन सिरी ‘ए’ मा एसी मिलानले हार व्यहोरेको छ । गएराति भएको खेलमा मिलान लाजियोसँग ३–० ले स्तब्ध बनेको हो । 

घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा जोआक्विन कोरेआले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता दिलाएका थिए । ५१औं मिनेटमा कोरेआले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । त्यसपछि ८७औं मिनेटमा सिरो इमोविलेले गोल गर्दै लाजियोलाई ३-० को जित दिलाए । 

पराजित भएसँगै मिलानले भने लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।  ३३ खेलमा ६६ अंक जोडेको मिलान पाँचौं स्थानमा । लाजियो ३२ खेलबाट ६१ अंक जोडेर छैटौं स्थानमा यथावत छ ।