काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ ।

गएराति भएको खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।

खेलमा लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए । अंशु फातीले ४२ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । फिलिप कौटिन्होले ५३ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

६८ औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । उनले युभेन्ट्सविरुद्धको अर्को खेल गुमाउनेछन् ।

खरातिनले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काएका थिए । बार्सिलोनाका गोन्जालेजले ८२ औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्याए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए । समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ ।