काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छन्।

तिहारको अवसरमा सोमबार जारी शुभकामना सन्देशमार्फत उनले सरकार निर्वाचन तयारीमा पूर्ण रूपमा दत्तचित्त रहेको बताएका हुन् । उनले राजनीतिक संवाद, सुशासन र सुरक्षा व्यवस्थाका कार्यहरू सन्तोषजनक ढंगले अघि बढिरहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ।’

उनका अनुसार भदौको ‘जेनजी आन्दोलन’ ले जनतामा राजनीतिक सचेतना र परिवर्तनप्रतिको भरोसा जगाएको छ, जसको सम्मानस्वरूप सरकारले पारदर्शी र उत्तरदायी शासनलाई प्राथमिकता दिएको छ।

प्रधानमन्त्रीले ६ महिनाभित्र स्थिर सरकार गठन गर्ने वचनसमेत दिँदै भनिन्, ‘हामी निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ। यसनिम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढेको छ।’

सन्देशमा उनले देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई बडादसैं, तिहार, म्ह पूजा, नेपाल संवत ११४६ र छठ पर्वको अवसरमा शुभकामना दिँदै कठिन परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन्।

उनले भनिन्, ‘आउनुहोस्, कुनै पनि भ्रम र लहडमा नलागी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ।’