काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्न पुनर्गठित संवैधानिक इजलास आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वास्थ्यमा समस्या आएपछि सोमबारकाे संवैधानिक इजलास  स्थगित भएको थियो । त्यसपछि आज इजलास बस्न लागेको हो । 

सुरुमा गठन गरिएको इजलासका न्यायाधीशमाथि प्रश्न उठेपछि आइतबार मात्र प्रधानन्यायाधीश जबराले बरिष्ठताका आधारमा संवैधानिक इजलास पुर्नगठन गरेका थिए । प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए। तर, आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस गर्दै मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । 

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिटको सुनुवाइ हुने छ। निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।  प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन् ।