काठमाडौं - जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । 

सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो । आयोग आइपुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बस्ने बताएका हुन् । 

आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ३४ जना सदस्यले उपेन्द्र यादव र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनामा मुख्य दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।