काठमाडौं - सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै उच्चस्तरीय समिति खारेज गरेको हो ।

अबदेखि समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी लाई दिने निर्णय गरेको छ ।कोरोनासँग सम्बन्धित सबै काम एउटै सेन्टरबाट गर्दा प्रभावकारी हुने देखिएकोले खारेज समवन्य समिति खारेज गरेको सरकारी तर्क छ ।

फागुनमा पोखरेलको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन, वाणिज्य,कृषि, शिक्षामन्त्री सदस्य रहेको उच्चस्तरीय समिति गठन भएको थियो ।कोरोनासँग सम्बन्धित अधिकांश काम सुरुमा उच्चस्तरीय समिति र पछिल्लो पटक सी.सी एम.सी मार्फत हुँदै आएको छ ।

सी.सी.एम.सीको कार्यालय नेपाली सेनाको छाउनीस्थित महावीर गणमा लगेर राखिएको छ ।पछिल्लो समय लकडाउन खुकुलो बनाउने र स्वास्थ्य संकटकाल घोषणा गर्ने भन्ने विषयमा समेत उच्चस्तरीय समिति र सी.सी.एम.सीबीच विवाद थियो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाका सक्रिय केस २ हजार नाघेपछि स्वास्थ्य संकटकाल घोषणा गर्न गरेको सिफारिसलाई सीसीएमसीले अस्वीकार गरेको थियो ।