काठमाडौं - स्पेनी क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गइराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा प्रिमियर लिग टोली चेल्सीसँग ३-२ को हार व्यहोरेपनि समग्रमा ५–४ को जितसहित अन्तिम चारमा स्थान पक्का गरेको हो । 

चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । खेलको १५औं मिनेटमा मासन माउन्टको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ५१ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै  चेल्सीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि टिमो वार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सेमिफाइनलको यात्रा आफ्नो पकडमा पारे तर, ८० औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई पुनः ४-४ को अवस्थामा ल्याए । थप समयको छैटौं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई ५-४ को जितसहित अन्तिम चारमा स्थान पक्का गरे । 

पहिलो लेगमा बेन्जेमाकै ह्याट्रिकमा रियलले अवे खेलमा चेल्सीलाई ३(१ ले पराजित गरेको थियो ।