इनिशाको शव २७ दिनपछि आफन्तले बुझ्दै, आजै अन्त्येष्टि गरिने
काठमाडौं- इनिशा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारले न्यायिक प्रक्रिया अगाडि नबढेसम्म शव नबुझ्ने अडान राखेका कारण बलात्कारपछि हत्या गरिएकी इनिशाको शव प्रदेश अस्पतालको शव गृहमा २७ दिनदेखि राखिएको थियो।गत फागुन २३ गते बिहान ६ बजे ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी गुर्भाकोट नगरपालिका-६ घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशा वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेतअवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो । जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। पछिल्लो समय अदालतबाट मुद्दासम्बन्धी आदेश आएपछि परिवार शव बुझ्न सहमत भएको हो। शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरेको परिवार स्रोतले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस