काठमाडाैं - कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार नढल्ने दाबी गरेका हुन् ।

वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेपछि सरकार ढल्छ भन्ने भ्रम फैलाइएको उनको भनाइ छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै उनले भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने टिप्पणी गरे ।

एमाले सत्तामा जान भोकाइरहेको उनको टिप्पणी छ । ‘सरकार भ्रष्टाचारका ठूला काण्डहरूको निष्पक्ष छानबिन गरी मुलुकलाई सुशासन दिने काममा लागेको छ । नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने नै गठबन्धन सरकारको ध्येय हो,’ उनले भने, ‘सरकार ढल्छ भन्ने बजारमा हल्ला चलेको सुन्छु । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । ’ मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताए ।