काठमाडौं - विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। 

प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ।   मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ।

यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ। त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १६ भव्य रङ्गशालामा रहने छ। 

विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ।