काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले बाढीका कारण बेपत्ता नागरिकको खोजी तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्यमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बोहराले प्रहरी र नेपाली सेनाका कर्मचारीको हकमा सम्बन्धित सङ्गठनले परिवारको जिम्मेवारी लिने आश्वासन दिए पनि सर्वसाधारणका लागि सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको बताए।
उनले सर्वसाधारण प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नदेखिएको गुनासो गरे।
‘सर्वसाधारणको कुरा गर्ने हो भने कहीँ पनि कोही पुगेको छैन। प्रशासनका मान्छे पालिकाका कर्मचारी पुगे होलान् भन्छन्, पालिका प्रमुख पुगे होलान् भन्छन्। नगरप्रमुख सरकार आउँछ भन्छन्। कोही पनि छैन,’ उनले भने।
सांसद बोहराले आफ्नो निर्वाचन क्षेत्रको एउटा उदाहरणसमेत प्रस्तुत गर्दै बाढी प्रभावितको उद्धार, खोजी तथा राहतमा सरकार थप प्रभावकारी रूपमा उपस्थित हुनुपर्ने बताए।

.gif)


