काठमाडौं - नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने विश्व कीर्तिमान बनाएका छन्।

कीर्तिपुरस्थित टियु स्टेडियममा जारी आइसीसी विश्व कप लिग २ मा स्कटल्यान्ड विरुद्धको खेलमा २ विकेट लिएसँगै सन्दीपले यो विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो ।

सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेर अष्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्। मिचेलले सन् २०१९ को विश्व कपमा वेस्ट इन्डिज विरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको कीर्तिमान बनाएका थिए।

सन्दीपले ७३ खेल खेल्दै ७१ इनिङ्समा १ सय ५० विकेट लिंदै स्टार्सको रेकर्ड तोडे। स्कटल्याण्ड विरूद्ध व्यक्तिगत दोस्रो विकेट लिंदै यो आँकडा पूरा गरे।

उनले जर्ज मुन्सेलाई आउट गर्दै १ सय ४९ औं विकेट लिएका उनले २० औं ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई इशान पाण्डेद्वारा क्याच आउट गराउँदै १ सय ५० औं विकेटको सफलता प्राप्त गरे।

एक दिवसीय क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ फिगर सन् २०२१ को लिग टुमा पिएनजी विरूद्ध ११ रन दिएर ६ विकेट लिनु हो।

एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड पनि सन्दीपको नाममा नै रहेको छ। उनले ४२ खेलमा १ सय विकेटको रेकर्ड कायम गरेका हुन्। यस्तै एक दीवसीय क्रिकेटमा लगातार ३ खेलमा ४ विकेट लिने रेकर्ड पनि उनकै नाममा रहेको छ।