काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा जारी बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन समितिमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।

यस्तै, बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशनसमेत दिएको छ । आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । आह्वानलाई नमानेको खण्डमा स्पष्टीकरण सोधेर कार्बाहीको प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।  

बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका केही सांसद पनि सहभागी भएको बताइएको छ । सो पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि ललितपुरमा जारी छ । यस्तै, आजको बैठकमा नेकपा विभाजित भएपछि  तटस्थ रहँदै  आएका लालबाबु पण्डित पनि उपस्थित भएका थिए ।