काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङ छुङछेङको टोली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डबीच भेटवार्ता भएको हो। 

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई चीन सरकारले राहत सामग्री प्रदान गरेकोमा धन्यवाद समेत दिए।

उक्त छलफलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत थिए। सोङले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर चिनियाँ कम्युनिस्ट पार्टीको नेपाल भ्रमणबारे जानकारी गराएका थिए। पाँच दिने भ्रमणमा काठमाडौं आएका उनले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गरिरहेका छन्। उनी शुक्रबार पोखरा जाने कार्यक्रम रहेको छ। पोखरा बसाईको क्रममा उनले शनिबार आयोजना हुने नेपाल-चीन कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुनेछन्। 

उनले आइतबार भूकम्पबाट क्षति भई चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको भक्कतपुरका आयोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ। त्यसपश्चित उनी आइतबार नै श्रीलंकाको कोलम्बो प्रस्थान गर्नेछन्।