काठमाडौं - अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । 

सोमबार बिहान १० बजे कतार एयरवेजको नियमित उडानमार्फत् जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकाे हो । सो खोप विमानस्थलमै पत्रकार सम्मेलनमार्फत नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । 

कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ ।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ । 

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । जसमध्ये  अहिलेसम्म २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्रा र आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा खोप प्रदान गरिएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ ।