टिकटक बनाउँदै गर्दा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु
काठमाडौं,तुल्सीपुर - सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा रहेका छन् ।
उनको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार आइसियूमा उपचाररत थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको हो ।
शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी नदिको किनारमा बजारिन पुगेका थिए । उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो ।
उनी साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएको बताइएको छ ।
प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस