काठमाडौं - शनिबार राति मोटरसाइकल गस्तीमा हिँडेका कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको छ । 

बेपत्ता भएका साउँदको शव आज भेटिएको हाे भने असई गोविन्द विकको शव आइतबार मोहना नदीको किनारामा भेटिएको थियो । 

केराउ तस्करीलाई रोक्न खोज्दा उनीहरुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । शनिबार राति ११ बजे तिर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्केका असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए ।

यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जना तस्करलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक गर्दैछ ।