काठमाडौं - कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।

खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै लज्जास्पद हार बेहोरेको नेपाल यूएईलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ। यूएईले पनि पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग हार बेहोरेको थियो।

आजको खेल नेपालका लागि ऐतिहासिक अवसरसमेत हो। यो नेपालको १००औँ ओडीआई खेल हो। नेपालले अहिलेसम्म सबैभन्दा धेरै एकदिवसीय अन्तर्राष्ट्रिय खेल यूएईसँगै खेलेको छ।

दुई टोलीबीच अहिलेसम्म भएका २० खेलमा नेपालले १२ जित निकालेको छ भने ८ खेलमा पराजय बेहोरेको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवैको सामना गरेको छ।

नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो।

हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित, ४७ हार र एक बराबरीको नतिजा निकालेको छ। दुई खेल भने नतिजाविहीन बनेका छन्।

त्यसैले आज यूएईविरुद्धको खेल नेपालका लागि दोहोरो उपलब्धि हासिल गर्ने अवसर बनेको छ। यूएईलाई पराजित गर्न सके नेपालले ऐतिहासिक १००औँ ओडीआईलाई ५०औँ जितसँगै यादगार बनाउन सक्नेछ।