काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले मृतकका परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी पनि गराएका छन् ।

“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु,” उनले ट्विटरमा लेखेका छन्, “साथै, प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि सो भूकम्पमा परी मृत्यु भएका ६ जनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत नै उनले शोकमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।