काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन गर्दा साना पार्टीले संसद्‌मा अस्थिरता निम्त्याउँने बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए।

उनले गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने जिकिर गरे ।

महासचिव पोखरेलले भने,’त्यसको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं।’

राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको उनको भनाइ छ ।

विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको पनि उनले बताए।