काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । इलामको मतपरिणाम सार्वजनिक भएपछि मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने बताएको हो ।

‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ ।रास्वपाले इलाम क्षेत्र नं. २ का सम्पूर्ण मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दै निर्वाचित उम्मेदवार एमालेका सुहाङ नेम्बाङलाई शुभकामना समेत दिएको छ ।