हर्क साम्पाङको प्रश्न : प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विषयमा बिहीबार पनि प्रश्न उठाएका छन् ।
बिहीबारको बैठकमा सुरु हुनासाथ समय पाएका उनले प्रधानमन्त्री बालेन संसदको सदस्य हो कि होइन भनी प्रश्न गरे ।
उनले भने–‘नियमावलीमा सात दिनभित्र सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भनिएको छ । उहाँ यो संसदको मेम्बर हो कि होइन ?’ साम्पाङले प्रश्न गरे ।
प्रधानमन्त्री बालेनले गृह मन्त्रालय आफैँसँग राखेकाले सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न रहेको उनले बताए । ती प्रश्नको जवाफ प्रधानमन्त्रीले संसदमा आएर दिनुपर्ने उनको भनाइ थियो ।
उनले कर्तव्य पूरा गर्न नसक्ने हो भने मार्गप्रशस्त गर्दा राम्रो हुने बताए । उनले भने–‘संसदको गरिमा जोगाइ राख्न पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्न सक्नु हुन्छ कि हुँदैन ? कर्तव्य पूरा गर्न सक्नु हुन्नभने मार्गप्रशस्त गर्दा राम्रो ।’
यसैबीच, साम्पाङले आज पनि संसदमा विरोध जनाए । बैठक सुरु हुने वित्तिकै उठेर उनले प्लेकार्ड देखाएर विरोध जनाएका हुन् ।
जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा निरन्तर प्लेकार्ड देखाउँदै आएका साम्पाङलाई बुधबार सभामुख डोलप्रसाद अर्यालले आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका थिए ।
तर आज पनि उनी संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका हुन्। यद्यपी सभामुख अर्यालले आज भने उनलाई बोल्न समय दिए ।
साम्पाङ मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि सभामुख अर्याल समय नदिएपछि बैठकबाटै बाहिरिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस