बराबरीमै राेकियो एट्लेटिको, सुआरेजले तोडे रोनाल्डोको कीर्तिमान
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेल्दै एट्लेटिकोले अंक बाँडेको हो ।
खेलको १३ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४५औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा फर्काए । खेलको ५० औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।
योसँगै सुआरेजले क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमानसमेत तोडेका छन् । यो सिजना बार्सिलोनाबाट आएका सुआरेजले एट्लेटिकोको लागि मात्र १७ खेलमा १६ गोल गरेका छन् । २१ औँ शताब्दीमा स्पेनको शीर्ष लिगमा कुनै क्लबका लागि शुरुवाती १७ खेलमा १६ गोल गर्ने उनी पहिलो खेलाडी बनेका हुन् । यसअघि सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल मड्रिड आएपछि क्रिस्टियानो रोनाल्डोले १७ खेलमा १५ गोल गरेका थिए ।
तर, खेलकाे ८९ औं मिनेटमा फकुन्डो फेरेराले सेल्टाका लागि गोल गर्दै अंक खोस्न सफल भए । शीर्षस्थानमा रहेको एटलेटिकोको २१ खेलबाट ५१ अंक पुगेको छ । सेल्टा भने २६ अंक जोडेर १०औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस