काठमाडौं - नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकले विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

सापकोटाका अनुसार सम्मेलनअघि पार्टीको केन्द्रीय समिति बस्नेछ । समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।