जब नेकपा सचिवालय बैठकमा वामदेव प्रकरणको कुरै उठेन ...
काठमाडौं - नेकपाका २ अध्यक्षबीच आइतवार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो । उनीहरूको निर्देशनअनुसार महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे ।
बैठक आह्वान भएपछि नेताहरूले ‘वामदेव प्रकरण’बारे पक्कै छलफल हुने ठाने । ‘एजेन्डा जानकारी गराइएको थिएन । विवादमा राष्ट्रिय सभाको मनोनित एउटा कोटामा वामदेव गौतम वा डा। युवराज खतिवडा भन्ने विषय थियो । यसमै छलफल केन्द्रित होला भन्ने अनुमान थियो,’ सचिवालयका एक सदस्यले भने, ‘त्यही भएर बैठक आह्वान लगत्तै नेताहरू आ–आफ्नो तयारीमा लागेका थिए ।’
प्रधानमन्त्री केपी शर्मा ओली भने ग्रान्डी अस्पतालमा गए । उनले त्यहाँ गाडी दुर्घटनामा परी उपचाररत नेकपा मालेका महासचिव सीपी मैनालीलाई भेटे । मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । लगत्तै उनी आफ्नो नियमित स्वास्थ्य परीक्षणतिर लागे ।
त्यही बेला उपाध्यक्ष वामदेव गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका थिए । दाहालसँग बिहान झण्डै १ घण्टा बातचिज गरी उनी त्यहाँबाट बाहिरिए । दाहाल भने ऊर्जामन्त्री वर्षमान पुन लगायत केही नेतासँग सामान्य छलफल गरी सचिवालय बैठकका लागि बालुवाटार हिँडे ।
उनी बीचमा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न नेपाल निवास कोटेश्वर छिरे । उनीहरूबीच केहीबेर छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयका सदस्य जुट्न थालिसकेका थिए ।
रामबहादुर थापा भने पोखरामा रहेकाले उपस्थित थिएनन् । दाहालसहित अन्य नेता भेला भइसक्दा पनि प्रधानमन्त्री ओली ग्रान्डीमै थिए ।
प्रतीक्षाको केहीबेरपछि प्रधानमन्त्री ओली आइपुगे र बैठक कक्षमा प्रवेश गरे । उनले आफू स्वास्थ्य फलोअपका लागि बाहिर रहेकाले आइपुग्न केही ढिला भएको भन्द्र बैठक आरम्भ गरे ।
‘म शुरूमै मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँछु,’ उनले भने, ‘म अब मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन जाँदैछु । यसको योजनाका विषयमा म तपाईंहरूलाई केही जानकारी दिन्छु ।’
त्यसपछि प्रधानमन्त्रीले आफ्नो उपचार तयारीबारे बैठकमा अवगत गराए । ‘भोलि अस्पताल भर्ना हुन्छु । बुधवार प्रत्यारोपणको प्रक्रिया शुरू हुनेछ,’ प्रधानमन्त्रीलाई उदृत गर्दै एक सचिवालय सदस्यले भने ।
प्रधानमन्त्रीले आफ्नो उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुन लागेको र त्यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । गौतमका विषयमा छलफलको अपेक्षा राखेका नेताहरू त्यसपछि त्यता प्रवेश गरेनन् । उनीहरूले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरे ।
गरीब २५ मिनेटमा बैठक सकियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारका विषयमा मात्र जानकारी गराएकाले अन्य कुनै छलफल नभएको बताए ।
‘बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्योपचार योजनाबारे सचिवालयलाई जानकारी गराउनुभयो । यही बुधवार उहाँको मिर्गौला प्रत्यारोपणको शल्यचिकित्सा हुने योजना छ । त्यसका लागि उहाँ भोलि (सोमवार) अस्पताल भर्ना हुनुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्रिवि शिक्षण अस्पतालमा उहाँको शल्यचिकित्सा हुनेछ । पार्टीले शल्यचिकित्सा सफल रुपमा सफल होस् भन्ने कामना गरेको छ । यसबाहेक अन्य केही छलफल सचिवालयमा भएन ।’
अन्नपूर्ण पोस्ट दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस