नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी गत असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।

उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए–नभएको स्वाब संकलन गरी परीक्षणको लागि पठाइने बताए । त्यस्तै, रामपुर नगरपालिका–४ सदावर्तमा करिव ५५ वर्षीय पुरुष मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कार्यालय प्रहरी निरीक्षक भीमबहादुर कार्कीको नेतृत्वको टोलीले उक्त घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।