ओलीविरुद्ध रणनीति तय गर्न माधव-झलनाथ पक्षले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।
सो पक्षको शुक्रबार साँझ बसेको आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले सबै जिल्लामा समानान्तर कमिटी बनाउने निर्णय पनि गरेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकलौटी ढंगले निर्णय गर्दै आफूहरुलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेपछि सो पक्ष असन्तुष्ट छ । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र बैठकमा बोलाएर आफू र महासचिवबाहेक नेपाल र खनाल पक्षका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेका छन् ।
वरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ। पूर्ववत् एमालेमा योगेश भट्टराईलाई उक्त जिम्मेवारी थियो।
स्कुल विभाग प्रमुखको जिम्मेवारी ओलीले लिएका छन्। संगठन विभाग प्रमुख विष्णु पौडेल, सम्पर्क कमिटी, कोष तथा आर्थिक विभाग प्रमुख छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुख सुवास नेम्बाङ, निर्वाचन विभाग प्रमुख विष्णु रिमाललाई बनाइएको छ।
यस्तै, प्रदेश इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरिएको छ। प्रदेश १ मा सुवास नेम्बाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ। पूर्ववत् एमालेमा प्रदेश १ मा भीम आचार्य, वागमतीमा अष्टलक्ष्मी शाक्य, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल इन्चार्ज थिए। नेपालनिकट चारै जना इन्चार्जको जिम्मेवारी खोसिएको छ।
फेसबुक पेज Like गर्नुहोस