कैलाली कारागार झडपमा मृत्यु भएका चौधरीको शव परिवारले बुझे
धनगढी - कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् ।
प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि आज मृतकका परिवारले शव उठाएका हुन् ।
प्रशासकीय अधिकृत शिवराज जोशीले भने, “मृतक परिवारका केही माग प्रदेश सरकारले सम्बोधन गर्ने भनिसकेको छ। मृतकका बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि उहाँहरू सहमत हुनुभयो।”
दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका परिवारले आज बिहानसम्म शव बुझ्न मानेका थिएनन् । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ मृतक चौधरीका परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो।
कैदीबन्दीबीच बन्दीगृहमा शुक्रबार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस